बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी महर्जन पक्राउ

ललितपुर, मंसिर ११
बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन् । इमाडोल प्रहरीका अनुसार ललितपुर महालक्ष्मी नगरपालिका इमाडोल बस्ने ४२ वर्षीय पञ्च महर्जनलाई मंगलबार बिहान पक्राउ गरिएको हो । प्रहरीका अनुसार उच्च अदालत पाटनको २०७६ असार ८ गते फैसलाले बैंकिङ कसुर मुद्दामा तीन लाख ५० हजार रुपैयाँ जरिवाना र १० दिन कैद सजाय भई फरार रहेका उनलाई महालक्ष्मी नगरपालिका ४ इमाडोलबाट प्रहरीले पक्राउ गरेको हो । 

महर्जनलाई कैद तथा जरिवाना असुलीको लागि जिल्ला अदालत ललितपुर पठाइएको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ । यसैबीच प्रहरीले सिम्रौनगढ नगरपालिका ५ बस्ने ३५ वर्षीय शम्भु महतोलाई एक हजार दरको नक्कली नोट एक थानसहित मंगलबार बिहान पक्राउ गरेको छ ।महागढीमाई नगरपालिका १ गढीमाई मन्दिर अगाडि पुजा पसलमा सामान खरिद गर्दा महतोले उक्त नक्कली नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बरियारपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस