जनचेतनाको अभावमा भूकम्पीय जोखिम

जनचेतनाको अभावमा भूकम्पीय जोखिम

पृथ्वीको गर्भमा दैनिक रूपमा भूकम्पका अनेकन कम्पनहरू उत्पन्न भए पनि उक्त कम्पन केवल भूकम्प मापन यन्त्रले मात्र चाल पाउने हुँदा यस संसारमा रहेका प्राणी जगतले सहजै महशुस गर्न नसकेका मात्र हुन् । मानव सभ्यताको विकाससँगै विश्वमा प्राकृतिक प्रकोपजन्य व्यवहारको महशुस गर्न थालिएको हो । सुरुको अवस्थामा भूकम्पीय जोखिमको दरमा त्यति ध्यान पुग्न सकेको थिएन । बढ्दो जनसंख्या वृद्धिसँगै अव्यवस्थित रूपमा भएको बस्ती विकासको नकारात्मक प्रभावस्वरूप जोखिमको दर पनि उच्च गतिमा नै रहँदै आएको छ । भूकम्पलगायत अनेकन प्राकृतिक विपत्तिबाट प्राप्त हुन आएको जनधनको क्षतिलाई आधार मानी त्यससम्बन्धी सुरक्षा चुनौती एवं जोखिमको मूल्याङ्कन गर्ने परिपाटीको विकास भएको हो ।

जोखिम न्यूनीकरणको सुरक्षित अवधारणालाई अक्षरंश पालना गर्ने हो भने यस क्षेत्रमा अपार सफलता पाई क्षतिको दर न्यून गर्नमा अवश्य पनि ठूलो सहयोग पुग्ने देखिन्छ । यस सन्दर्भमा निश्चितरूपमा बसोबासका लागि उपयुक्त वा अनुपयुक्त रहेका भवनहरूको दक्ष प्राविधिक जनशक्तिबाट सुपरीवेक्षण एवं मूल्याङ्कन गर्दै सुरक्षित अवधारणाअनुसार यथोचित सुधार गर्नुपर्ने हुन्छ । विश्वका अन्य मुलुकमा जस्तै नेपालमा पनि हाल आएर एकल परिवारको संस्कृति विकास भएको हुँदा भूमिको अभाव रहन गई स–साना भवनको अतिरिक्त बहुतले भवनको निर्माण गरी बस्ती विकास सुरुवात भएलगतै यस क्षेत्रमा थप सुरक्षा सम्वेदनशीलताको जटिलता महशुस गर्न थालिएको हो ।

विसं २०७२ को भूकम्पपश्चात् सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत डिभिजन कार्यालय काठमाडौँले विभिन्न परीक्षण तथा मापदण्ड पूरा गरेका अपार्टमेन्टलाई बसोबासका लागि उपयुक्त रहेको व्यहोरा प्रमाणित गरेको पाइन्छ । यद्यपि व्यक्तिगत तवरमा निमार्ण गरिएका भवनको हकमा भने खासै सुपरिवेक्षण एवं अनुगमन गर्ने कार्यमा विशेष ध्यान पुग्न नसकेको हुँदा सम्भावित जनधनको क्षतिमा अझै पनि ढुक्क हुन सकिने अवस्था प्रारम्भ भएको पाइँदैन । किनकी बहुतले भवनको तुलनामा स–साना स्तरको भवनको संख्या मुलकमा अत्यधिक रहेको कारण यस क्षेत्रको जोखिमको दर पनि उच्च गतिमा नै रहेको छ ।

उच्च भूकम्पीय जोखिमको हिसाब नेपाल विश्वको पहिलो १५ स्थानमध्येको मुलुक रहेबाट पनि हरेक पल सतर्क रहनु नै जोखिमको दर न्यून गर्नु हो । यस हिसाबले हेर्दा हामीले भवन निमार्णको सुरुवाती अवस्थादेखिनै विशेष सावधानी अपनाएर निमार्ण कार्य सम्पन्न गर्नुपर्ने हुन्छ । तथापि भवन निमार्ण लागत खर्चमा मितव्ययी रहन दक्ष प्राविधिक जनशक्तिको सल्लाह र सुझावलाई भन्दा पनि ठेकेदार समूहको सुझावलाई पालना गर्ने प्रवृत्तिको विकासले यस क्षेत्रको जोखिमको दर न्यून गर्न अवरोध सिर्जना भएको हो ।

यसका बाबजुद पनि भूकम्पीय सुरक्षा अवधारणाको व्यापकरूपमा प्रचार प्रसार एवं सान्दर्भिकता दर्शाउन विसं २०५५ सालदेखि निरन्तररूपमा भूकम्प सुरक्षा दिवस मनाउने जमर्को गर्दै प्रत्येक वर्ष माघ २ गतेको दिनलाई यस दिवसको रूपमा मनाउँदै आएका हौँ । जसलाई विसं १९९० माघ २ गते मुलुकमा आएको महाभूकम्पको स्मरणस्वरूप त्यस समयमा भएको अपार जनधनको क्षतिलाई आधार मान्दै भावि पुस्ताको लागि आवश्यक पर्ने सुरक्षित अवधारणाअनुरूपको रणनीतिलाई आत्मसात गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले यसप्रकारका दिवसहरूको आयोजना गर्ने गरिएको हो । जसअनुसार यस क्षेत्रमा आवश्यक पर्ने तात्कालीन, अल्पकालीन एवं दीर्घकालीन उपायसहितको आवश्यक सूचनाहरू आम जनमानसमा सम्प्रेषण गर्न सके धेरै नै सुधारको अपेक्षा गर्न सकिनेछ ।

भूकम्पबाट हुन सक्ने सम्भावित जोखिमलाई सतर्कताका साथ मनन गर्दै त्यससम्बन्धी सुरक्षा अवधारणाको पूर्ण पालना गर्ने प्रतिबद्धता नै जोखिम न्यूनीकरणको पहिलो खुड्किलो मान्न सकिन्छ । यसका अतिरिक्त विसं २०७२ साल वैशाख १२ गतेको भूकम्पले पु¥याएको क्षतिलाई अध्ययन गर्दै प्राविधिक दृष्टिकोणले मर्मतपश्चात् बसोबासको लागि उपयुक्त हुने भवनका सन्दर्भमा आवश्यक सुधारका लागि अपनाउनु पर्ने भूकम्प प्रतिरोधी प्रवलीकरणसम्बन्धी विधिलाई जनस्तरसम्ममा प्रचार प्रसार गर्दै यसको महत्व दर्शाउन सकिए थोरै पँुजीबाट अत्यधिक लाभ लिई सुरक्षित बासस्थानसम्बन्धी अवधारणाले मूर्तरूप धारण गर्नेछ । यस क्षेत्रमा रहेको सुरक्षा सवेदनशीलताको गहनतालाई माथि उठाउन अझ धेरै कार्य गर्नुपर्ने देखिन्छ ।

तसर्थ भूकम्पजस्तो प्राकृतिक जोखिम न्यूनीकरण गर्ने उपायसहितको विधिलाई हरेक घर, टोल र समाजसम्म पु-याउँदै सुरक्षित रहने उपायलाई किताबी ज्ञान वा अन्य कुनै दिवस विशेषको रूपमा मात्र सीमित नराखी विधिसम्मत तवरले व्यवस्थापन गर्न सकिए यसको सान्दर्भिकतासहितको उपादयता अझै प्रष्ट हुने थियो कि ?

सुरक्षा अवधारणाको विकाससँगै सचेतनात्मक कार्यक्रमको विकास गर्न नसक्ने हो भने यसको कुनै अर्थ रहँदैन । किनकी आपतकालीन अवस्थामा सुरक्षित रहन नसकी भविष्यमा पर्न सक्ने प्राकृतिक प्रकोपको क्षेत्रमा फेरि पनि अत्यधिक जनधनको क्षति व्यर्होनुपर्ने अवस्था सिर्जना भए सुरक्षा अवधारणाहरू केवल औपचारिकतामा मात्र सीमित रहने देखिन्छ ।

समाजमा विद्यमान रहेको नकारात्मक एवं अन्धविश्वासमय वातावरणको कारण कतिपय अवस्थामा भूकम्पलाई दैवी शक्तिको उपज मान्ने प्रवृत्तिको विकासले अन्ततः जनधनको क्षति अभिवृद्धि गर्न सहयोगीको भूमिका निर्वाह गर्ने गरेको पाइयो । अतः भूकम्प कुनै पनि हालतमा दैवी विपत्ति नभई प्रकृतिको गर्भमा रहेको टेक्टोनिक ल्पेटको घर्षणको कारण निम्तिएको प्राकृतिक विपत्तिको भयावह रूपको साथै ज्वालामुखी विस्फोटनको प्रभावले निम्तिने सत्यतथ्यलाई नेपालजस्तो अत्यधिक भूकम्पीय जोखिम रहेको क्षेत्रका बासिन्दालाई अवगत गराउन सके क्षतिको दर न्यून गर्नमा सहयोगीको भूमिका निर्वाह हुने थियो ।

प्रस्तुत शिक्षाको अभावमा क्षतिको अत्यधिकता कायम रहन जाने तथ्यलाई कुनै पनि हालतमा इङ्कार गर्न मिल्दैन । तसर्थ अज्ञानताका कारण उत्पन्न हुनसक्ने जोखिमको दरलाई न्यूनीकरण गर्न सूचना प्रविधिको माध्यमबाट जानकारीमूलक कार्यक्रमको व्यापकरूपमा प्रचार प्रसार गर्दै जनचेतनाको अभिवृद्धि विकटभन्दा विकट बस्तीहरूमा सम्प्रेषण गर्नुपर्ने हुन्छ ।

भूकम्पले जमिनको सतहमा मात्र कम्पन ल्याउने नभई यसका अतिरिक्त अन्य प्राकृतिक विपत्तिलाई समेत निम्ताउने तथ्यलाई मनन गर्दै कार्य गर्र्नु पर्नेछ । नेपाललगायत समस्त दक्षिण एसिया क्षेत्रमा रहेका युवा हिमश्रृङ्खलाको बाहुल्यताले यस क्षेत्रमा भूकम्प एवं सोबाट उत्पन्न हुने जोखिमको दर अत्यधिक रहन गएको हो । त्यसो भएको हुँदा प्रस्तुत सन्दर्भमा मानसिकरूपले पूर्ण सतर्क रहने अवस्था तयार नभएसम्म जोखिमको दर घट्यो भनेर भन्न सकिने अवस्था रहँदैन ।

यसका अतिरिक्त जोखिम क्षेत्र पहिचान गरी संरचना निर्माणमा नयाँ र नौलो प्रविधि उपयोग गर्ने नीतिलाई राज्यले प्रोत्साहन गर्नु पर्नेछ । जसलाई अनिवार्य रूपमा पालना गर्ने र गराउनेतर्फ सरोकारवाला पक्षको अविलम्ब ध्यान जानु वर्तमान समयको माग हो । यसप्रकारका सकारात्मक कदमले भूकम्पीय सचेतताको अभिवृद्धि गर्दै अगाडि बढ्न सके जोखिमको दर कम हुनेछ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie